धरान: सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकहीका विजय साहको सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएपछि आन्दोलित बनेका स्थानीय र प्रशासनबीच पाँच बुँदे सहमति भएको छ । 

बुधबार राती सशस्त्र प्रहरीले गोली चलाउदा सिटी सफारी चालक साहको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि बिहिबार दिनभर लौकही क्षेत्र तनावग्रस्त बन्यो । आक्रोशित स्थानीयबासीले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)मा तोडफोड र आगजनी गरेका थिए भने पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । 

स्थिति तनावग्रस्त हुदै गएपछि जिल्ला प्रशासन कार्यालयले आन्दोलित स्थानीयबासीलाई सर्वपक्षीय छलफलमा बोलाएको थियो । उक्त सर्वपक्षीय छलफलमा पाँच बुँदे सहमति भएको थियो । उक्त सहमति भएसँगै स्थानीयबासीले आन्दोलन स्थगन गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको छलफलमा घटनाको छानबिन गरी सत्यतथ्य पत्ता चलाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहने, साथै समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति पनि उक्त छलफलमा भएको छ । 

laukahi1

यस्तै, समितिको प्रतिवेदन प्राप्त भएपछि सुरक्षा अधिकारीको लापरवाहीको कारण मृत्यु भएको पाइएमा नियम अनुसारको राहत एवं क्षतिपूर्तिका लागि नेपाल सरकार गृहमन्त्रालयमा सिफारिश गरि पठाउने पनि सहमति भएको छ । 

मृतक साहकी श्रीमतिलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने, मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने पनि सहमति भएको छ । साथै, मृतक साहको शव पोष्टमार्टमको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सो पश्चात मृतक परिवारले दाहसँस्कार गर्ने पनि छलफलमा सहमति भएको छ । 

भारतीय सिमा नजिकै घर भएका साह दैनिक उपभोग्य बस्तु सफारीमा ल्याएर बिक्री गर्ने गरेका थिए । बुधबार राती पनि समान लिएर आउने क्रममा सशस्त्र प्रहरीले गोली चलाउदा उनको मृत्यु भएको थियो । सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख एवं डिआइजी कुमार न्यौपानेले तस्करी नियन्त्रण लिने क्रममा केही व्यक्तिहरु भागेको र त्यसक्रममा एक व्यत्तिले गोली चलाएकोले जवाफी फायर गर्दा साहको मृत्यु भएको प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएका छन् ।

तर, स्थानीयबासीले भने लेनदेनमा कुरा नमिलेपछि गोली हानेर साहको हत्या गरेको भन्दै बिहिबार पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलित भएका थिए । आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)मा तोडफोड र आगजनीसमेत गरेका थिए । 

laukahi2
laukahi3