उद्योगी, व्यवसायीहरुको हकहित संरक्षण तथा प्रर्वद्धन गर्न २०२० सालमा व्यापार समितिको नामबाट स्थापना भएको सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न यही असार ३० गते निर्वाचन हुदैछ । उक्त निर्वाचनमा अध्यक्ष पदमा गोपाल श्रेष्ठले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । अरुण पेट्रोलियम ट्रेडिङ सेन्टर प्रालि, धरान प्रिन्टिङ प्रेस, अप्पुश्री आयल सेन्टर, हिमालयन सर्भिस स्टेशन, रामपुर आयल सेन्टर प्रालि, विष्णु ढुवानी प्रालि, नेपाल फ्युल सेन्टर प्रालिलगायतको प्रोपाइटर रहेका श्रेष्ठ धरानको चिरपरिचित व्यवसायी र सामाजसेवी पनि हुन् ।
उनी हाल नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको केन्द्रीय सदस्य, पुर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको वरिष्ठ उपाध्यक्ष, पेट्रोलियम डिलर्स एशोसिएन कोशीको कोषाध्यक्ष पनि छन् । यस्तै, आसरा सुधार केन्द्र पानवारीको सञ्चालक समिति सदस्य, सुनसरी जिल्ला गल्फ संघको कार्यसमिति सदस्य, रोटरी क्लब अफ घोपा धरानको संस्थापक सदस्य, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेवाः देय् दबू धरानको सल्लाहकार पनि हुन् ।
अध्यक्ष पदका प्रत्यासी श्रेष्ठ करिब १८ बर्षअघि २०६४ देखि ०६६ सम्म अशोक ताम्राकार अध्यक्ष हुँदा सुनसरी उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य भएका थिए । त्यसयता उनी विभिन्न जिम्मेवारीमा रहेर संस्थागत विकासमा योगदान दिइरहेका छन् । उनी २०६६ देखि ०६९ सम्म मोहनकाजी शाक्य संघको अध्यक्ष हुँदा उद्योग सचिव, २०६९ देखि ०७२ सम्म सरोज श्रेष्ठ संघको अध्यक्ष हुँदा कार्यसमिति सल्लाहकार, २०७३ देखि ०७६ सम्म राजेन्द्र साह अध्यक्ष हुँदा पनि कार्यसमितिको सल्लाहकार रहेका थिए ।
यस्तै, २०७६ देखि ०७९ सम्म गिरीधारी सापकोटा अध्यक्ष हुँदा कोषाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए भने २०७९ मा विजय श्रेष्ठ अध्यक्ष हुँदा (वर्तमान कार्यसमिति) प्रथम उपाध्यक्ष रहेका छन् । अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठसँग क्लिकधरानले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
प्रश्न: आगामी नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ, तपाईको एजेण्डाहरु के के छन् ?
उत्तर: मेरो सबै एजेण्डाहरु उद्योगी, व्यवसायीहरुको हकहित, संरक्षण र संवद्र्धन गर्नको लागि छ । त्यसमध्ये पनि मैले प्रमुख प्राथमिकता दिएको एजेण्डाहरुमा धरान कोसेली घर निर्माण गर्ने, बहुउपयोगी धरान लेउती सुरुङ मार्ग निर्माणको पहल गर्ने, अलपत्र अवस्थामा रहेको औद्योगिक ग्राम निर्माणलाई पुनः सुचारु गर्न पहल गर्ने, प्रादेशिक औद्योगिक प्रर्दशनी केन्द्र बनाउन तीनै तहका सरकारसँग समन्वय र पहल गर्ने, संघलाई डिजिटलाइज तथा प्रविधिमैत्री बनाउने, व्यवसायहरुको सामुहिक विमा गर्ने रहेको छ ।
यसैगरि, धरानको वडा नं १३ र ४ लाई पर्यटकीय क्षेत्रकोरुपमा विकास र घोषणा गर्न पहल गर्ने, उद्योगी र व्यवसायीहरुको हित हुने गरि वैज्ञानिक कर नीति बनाउन सरकारसँग पहल गर्ने, विभिन्न स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरी हाम्रा सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुटको व्यवस्था गर्ने, संघको पुर्वअध्यक्ष ज्युहरुको पुर्वअध्यक्ष परिषद गठन गर्ने, बस्तुगत संघहरुका सबै अध्यक्षहरुलाई समेटेर एउटा समन्वय कमिटी बनाउने, धरानका युवा व्यवसायीहरुलाई पनि समेटेर अर्को छुट्टै समन्वय कमिटी बनाउने, महिला उद्यमीहरुलाई प्रोत्साहन एवं क्षमता अभिवृद्धि गर्न पहल गर्ने र समय सापेक्ष संघको विधान संशोधन गर्नेलगायत मेरा मुख्य एजेण्डाहरु छन् ।

प्रश्न: चुनाव जित्ने तपाईको आधार के छन् ?
उत्तर: सर्वप्रथम त म १८ बर्षअघिदेखि सुनसरी उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । म आफै पनि व्यापारमा संलग्न छु, र व्यापारी, व्यवसायीहरुको हकहितमा निरन्तर लागिपरेको व्यक्ति हुँ । विभिन्न वस्तुगत संघ, पुर्वअध्यक्ष ज्युहरु र वर्तमान कार्यसमितिको पनि मलाई पुर्ण समर्थन छ । संघका मतदाताहरुले पनि मतदान गर्ने भनिरहनु भएकोले म उत्साहित छुँ । मेरो इमानन्दारिता, लगनशिलता र कही कतै व्यापारीहरुलाई समस्या पर्दा म तत्काल पुग्ने गरेको कारणले पनि सबैको सद्भाव मप्रति छ ।
म कोषाध्यक्ष पदमा हुँदा विश्वभर कोभिड महामारी भएको थियो, त्यो बेला पनि मैले संघको कोषमा ५० लाख फिक्स डिपोजिट गर्न सफल भएको थिएँ । हाल प्रथम उपाध्यक्ष हुँदा संघको डेढ सय जना मात्र अट्ने मिलेनियम हल पुर्ननिर्माण गरेर ५ सय जनासम्म क्षमता भएको एसि, एलइडि सहितको सुविधा सम्पन्न नयाँ हल मेरो नै संयोजकत्वमा बनेको छ । म नै मुल संयोजक भएर ३ पटक धरान एक्स्पो पनि सफलतापुर्वक सम्पन्न भइसकेको छ । तसर्थ, म कुरा भन्दा काम गर्ने मान्छे हुँ, त्यसैले पनि सम्पुर्ण मतदाताहरुले मलाई भोट दिएर जिताउनुहुनेछ भन्नेमा ढुक्क छुँ ।
प्रश्न: तपाईले एजेण्डामा समावेश भएको कोसेली घरको परिकल्पना कस्तो हो ?
उत्तर: अहिले केन्द्र सरकारबाट कोसेली घर बनाउन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्युले ३ करोड रुपैया विनियोजन गरिदिनुभएको छ । यो बजेट ल्याउन हाम्रो संघको वर्तमान अध्यक्ष विजय श्रेष्ठ र कार्यसमितिको पनि ठुलो भुमिका छ । मन्त्री ज्यु र हाम्रो अध्यक्ष ज्युलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
हाम्रो संस्थाको नाममा धरान १२ चतरालाईनमा अढाई कट्ठा जग्गा छ, त्यहाँ नै अण्डरग्राउण्ड पार्किंङसहित कोसेली घर निर्माण यही बर्षमा गछौं । कोसेली घरमा सुनसरी जिल्ला भरि उत्पादन भएको सामाग्रीहरु प्रर्दशनी र बिक्रीमा राख्छौं । त्यहाँ सधै जसो नै व्यापार प्रर्दशनी भइरहन्छ । धरान घुम्न आउने पर्यटकहरुले कोसेलीकोरुपमा ती उत्पादनहरु लैजान पाउनेछन् । यसले उत्पादन भएको बस्तुहरुको प्रर्वद्धन हुन्छ, र व्यापार व्यवासायमा टेवा पुग्छ ।

प्रश्न: धरान लेउती सुरुङ मार्ग स्थानीय, प्रदेश र संघको चुनावको बेला राजनीतिक दलहरुले एजेण्डा पनि बनाइरहन्छ, तपाईले पनि संघको निर्वाचनमा यसलाई किन एजेण्डामा समेट्नु भयो ?
उत्तर: यो गम्भीर बिषय हो । मुलघाट हुदै हाल निर्माण भइरहेको तमोर करिडोर सिधै बराहक्षेत्र भएर चतरा कोशी पुलबाट काठमाण्डौंतर्फ जान्छ । अर्को, मदन भण्डारी राजमार्ग पनि धरानको दक्षिणी क्षेत्र तिनकुनेबाट जंगल हुदै डाइभर्ट भएर जान्छ । महत्वपुर्ण यी दुई वटा राजमार्गले धरान वाइपास हुने प्रष्ट देखिन्छ । यसले धरानको व्यापार, व्यवसायलाई पनि प्रत्यक्ष असर पुग्छ भन्ने मेरो ठम्याई हो । यदि सुरुङ मार्ग बन्यो भने पहाडी क्षेत्रका मानिसहरु, व्यापारी, व्यावसायीहरु धरान छिटो आइपुग्छन् । यो सुरुङ मार्ग हेर्नको लागि पनि विभिन्न जिल्लाबाट मानिसहरु आउनेछन् । त्यसैले यो सुरुङ मार्ग धरानको व्यापार, व्यवसाय र पर्यटनको हितमा छ भन्ने मलाई लाग्छ ।
अर्को महत्वपुर्ण कुरा भनेको सुरुङ मार्ग बन्यो भने तमोरको पानी पनि धरान ल्याउन सकिन्छ, र धरानको खानेपानीको समस्या दीर्घकालिनरुपमा हल गर्न सकिन्छ । धरानलाई मात्र नभै तमोरको पानी इटहरी, विराटनगरसम्म वितरण गर्ने प्रबन्ध हुनसक्छ । त्यसैले गर्दा मैले यो एजेण्डालाई पनि समावेश गरेको हो । यो एजेण्डासँग अन्य मेरो राजनीतिक उद्देश्य र सम्बन्ध केही पनि छैन । सुरुङ मार्ग बन्यो भने धरानको विकास, व्यापार र पर्यटनमा कोसेढुंगा सावित हुनेछ भन्ने मलाई विश्वास छ ।
प्रश्न: तपाईको एजेण्डामा रहेको प्रर्दशनी केन्द्रको अवधारणा के हो ? यो कस्ले बनाउने हो ? तपाईहरुले वा सरकारले ?
उत्तर: नेपालमा ७ वटा प्रदेश छ, केन्द्र सरकारले ती ७ वटै प्रदेशमा प्रदेशस्तरीय प्रर्दशनी केन्द्र बनाउने निर्णय गरेको छ । कोशी प्रदेशको राजधानी विराटनगर भएपछि यो केन्द्र धरानमा बनाउनुपर्छ भनेर निर्णय पनि भइसकेको छ । वाणिज्य मन्त्री हुँदा माननीय मीनबहादुुर विश्वकर्माले यो महत्वपुर्ण योजना धरानलाई दिनुभएको हो । तर जग्गा ५ बिघा आवश्यक छ ।
यो स्थानीय सरकारले जग्गा उपलब्ध गराउनुपर्ने भएकोले मैले धरानका मेयर हर्कराज राई ज्युसँग कुरा पनि गरिसकेको छु । उहाँले ‘हुन्छ’ पनि भन्नुभएको छ । म निवार्चित भएपछि तादरुकताकासाथ समन्वय गरेर जग्गा खोज्ने र प्रर्दशनी केन्द्र बनाउन लाग्नेछु । यो केन्द्र बन्यो भने कोशी प्रदेशभरिको ठुला ठुला औद्योगिक, व्यापारिक एक्स्पोहरु धरानमै यही हुन्छ । यहाँ ३६५ दिन जसो नै औद्योगिक, कृषि, व्यापार एक्सो, महोत्सवहरु निरन्तर भइरहन्छ । यसको आयस्रोत सबै धरान उपमहानगरपालिका र उद्योग वाणिज्य संघलाई जान्छ । त्यसैले यो केन्द्र बन्नु भनेको धरानको लागि गौरवको कुरा हो, र प्रदेशकै व्यापार, व्यवसायको केन्द्र पनि बन्छ । तसर्थ, हामी सबै मिलेर केन्द्र निर्माण गर्न पहल गर्नुपर्छ ।
प्रश्न: तपाईहरुको संघलाई डिजिटलाइज गर्ने कुरा कस्तो हो ?
उत्तर: यो भनेको समय सपेक्ष सुनसरी उद्योग वाणिज्य संघलाई प्रविधिमैत्री बनाउने कुरा हो । अब संघको सबै काम कारबाही, सदस्यताको रेकर्डहरु डिजिटलाइज गर्ने कुरा हो । यसअन्तर्गत संघका सम्पुर्ण सदस्यहरुको बायोडाटा राख्नेछौं । यो डाटा संघ र सम्बन्धित व्यक्तिले मात्र हेर्न पाउने व्यवस्था हुन्छ । हाम्रो सदस्य बाहेक पनि सुनसरी जिल्ला भरिका उद्योगी, व्यापारीहरुको पनि डाटा राख्नेछौं । यसले हाम्रो जिल्लामा कस्तो कस्तो व्यापार व्यवसाय छ, कति उद्योग छन्, कति जनशक्ति छन् भन्ने तथ्यांक हामीसँग रहन्छ ।
व्यवसाय दर्तालाई पनि अब डिजिटलाइज गर्नेछौं । जस्तो कि नगरपालिका व्यवसाय दर्ता, घरेलु, वाणिज्य, कम्पनी रजिष्ट्रार कार्यालय, आन्तरिक राजश्व कार्यालय, औषोधी विभागलगायतमा दर्ता भएको रेकर्ड डिजिटलाइज गछौं, र समय भन्दा अगावै नवीकरण गर्न सुचना जारी गछौं । ती सुचनाहरु सिधै मोवाइल एसएमएस मार्फत पुग्ने प्रबन्ध हुन्छ, जसले व्यापारी, व्यवसायीहरुलाई समयमै सचेत गराएर जरिवाना हुनबाट जोगाउछ । अगावै नवीकरण गर्न जादा व्यापारीहरुले छुट पनि पाउछन् । संघको पत्राचार, सदस्यता प्रमाणपत्र, भुक्तानी, कुनै सुचनाहरु जारी गर्नुपरे सबै डिजिटलाइज नै गर्नेछौं । तत्कालै मोवाइल वा इमेलमार्फत सुचना पाउने व्यवस्था गर्दा कसैले पनि कुनै कार्यक्रम वा बैठकको मलाई सुचना भएन भन्ने गुनासो पनि हट्ने विश्वास लिएको छुँ ।
डिजिटलाइज गर्ने क्रममा नै व्यवसाय विमालाई पनि समेटछौं । म उद्योगी, व्यवापारीहरुको सहुलियतमा सामुहिक व्यवसाय विमा पनि गर्ने वातावरण गर्नेछु । यसको लागि विमा कम्पनीसँग सम्झौता गरेर हामी छुट्टै कर्मचारी खटाउनेछौं । त्यसो गर्दा व्यापारी आफैले विमा गर्दा पाउने छुट भन्दा हामीले संस्थागत विमा गरिदिदा बढी छुट पाउनेछन् । त्यो छुटको पैसाबाट संस्थाको सदस्यता पनि नवीकरण गरिदिन्छौं, र बचेको पैसा फिर्ता पनि गरिदिन्छौं । यसले व्यापार पनि सुरक्षित भयो, र भवितव्य दुर्घटना हुँदा सबै प्रक्रिया संघले नै गरिदिदा उद्योगी, व्यवसायीलाई झञ्झट पनि हुदैन । विमा रकम छिटो पाउने ग्यारेन्टी पनि हुन्छ । विमा क्लेम गरेअनुसार पैसा पनि छिटो भुक्तानी पाउछन् । यसैअन्तर्गत उद्योगी, व्यवसायीहरुको गाडी, मोटरसाइकलको पनि विमा गर्ने प्रबन्ध गर्नेछौं ।

प्रश्न: तपाईले धरान १३ र ४ लाई किन पर्यटन क्षेत्र घोषणा गर्न खोज्नु भएको हो ?
उत्तर: धरानलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने सोच अन्तर्गत यो एजेण्डा राखेको हुँ । धरान हुदै भेडेटार, नाम्जेको चिसोमा रमाउन भारतको विहारबाट धेरै पर्यटकहरु आउने गरेका छन् । भेडेटारसम्म जाने कोशी राजमार्गको दायाबाया थुप्रै होटलहरु खुलेका छन्, जुन वडा नं १३ र ४ मा पर्छ । त्यो क्षेत्रमा पर्यटकहरुको चहलपहल पनि धेरै छ ।
ती क्षेत्रमा पर्यटकहरुले सास्ती भोग्नु नपरोस् भनेर नै मैले पर्यटन क्षेत्र घोषणा गर्नुपर्छ भन्ने एजेण्डालाई समेटेको हो । त्यो क्षेत्रमा अहिले ९ बजेसम्म मात्र होटल खोल्न पाउने रहेछ, तर म राती १२ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्छ भने सम्बन्धित निकायहरुमा पहल गर्नेछु।
प्रश्न: तपाईले बस्तुगत संघका अध्यक्षहरुको र युवा व्यवसायीहरुको समन्वय कमिटि किन बनाउन खोज्नु भएको हो ?
उत्तर: सुनसरी उद्योग वाणिज्य सघमा वस्तुगत संघका अध्यक्षहरु गहनाकोरुपमा हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले वस्तुगत संघका अध्यक्षहरु ज्युहलाई समेटेर एउटा समन्वय समिति बनाउने मेरो उद्देश्य हो । यसले धरानको खस्कदो व्यापारलाई कसरी माथि उठाउने भनेर आवश्यक परामर्श, सल्लाह, सझाव दिनेछ । उहाँहरुबाट नै कहाँ के कमजोरीहरु भएको छ भनेर संस्थागत सुझाव पनि हामी पाउनेछौं, र के गर्दा समस्या समाधान गर्न सकिन्छ भनेर पहिचान पनि हुनेछ ।
यस्तै, युवा व्यवसायीहरुलाई पनि प्रोत्साहन गर्न र नेपालमै व्यापार, व्यवसायमा टिकाइरहन युवाहरुको समन्वय कमिटी बनाउन खोजेको हो । यसले युवा व्यवसायीहरुलाई पनि संस्थागत गतिविधिमा र विकासमा सहभागी गराउनेछ भन्ने मलाई लागेको छ ।
प्रश्न: धरानको व्यापार, व्यवसाय खस्कदो छ भनिन्छ, यसललाई माथि उठाउने तपाईसँग के कस्ता योजनाहरु छन् ?
उत्तर: धरानको खस्कदो व्यापारलाई उकास्न मेरो ठोस केही योजनाहरु छन् । पहिलो, स्थानीय सरकारसँग समन्वय गरेर धरानमा ठुला गोदाम घर बनाउने मेरो योजना हो । यो काम भयो भने ठुलो परिणाममा धरानमा हेलसेल व्यवसाय फष्टाउछ, र उपभोक्ताले सस्तोमा सामान पाउनेछन् । होलसेल व्यापारीहरुले सिधै देश, विदेशबाट सामान कन्टेनर कन्टेनरमा सामान ल्याएर स्टक गरेर होलसेल व्यापार गर्न सक्नछन् । यसले धरानलाई व्यापारिक हबकोरुपमा पुनः स्थापित गर्नेछ ।
यो किन पनि हुन्छ भन्दा, स्थानीय सरकारले आफ्नो स्वामित्वको जग्गामा पार्किङसहित गोदाम घर बनाइदिनुपर्छ । ती गोदाम घर सुलभ मुल्यमा होलसेल व्यापारीहरुलाई भाडामा उपलब्ध गराउदा व्यापारीको जमिन खरिद र संरचना बनाउदाको करोडौं लागत जोगिन्छ । त्यो भनेको सामान सस्तो हुनु हो । यसले रिटेल व्यापारीहरु काठमाण्डौं सामान लिन गइरहनु पनि परेन, जसले ढुवानी खर्च कम हुन्छ, र उपभोक्ताले सस्तोमा सामान पाउनेछन् । होलसेलर व्यापारीहरुले सामान ल्याएर त्यहाँ स्टक गर्छन् । यसले व्यापारलाई चलायमान बनाएर धरानलाई आर्थिक गतिविधिमा ठुलो टेवा पुर्याउछ । गोदाम घरको भाडावापत नगरको दीर्घकालिन आम्दानीको स्रोत पनि बन्नेछ । यहाँ गोदाम घर बन्यो भने पहाडी रुटको व्यावसायको हब धरान हुन्छ । त्यसैले गोदामघर बनाउन म स्थानीय सरकारसँग निरन्तर समन्वय र पहल गर्नेछु ।
अर्को कुरा, धरानको मुख्य बजार क्षेत्रमा वान वे लागु भएको छ, यो अलि व्यवहारिक भएन, व्यापारी व्यवसायीहरुको हितमा छैन भन्ने गुनासो छ । व्यापारी व्यवसायीहरुको माग अनुसार कसरी व्यवस्थित गर्ने भनेर म पहल गर्नेछु । यसैगरि, धरानको व्यापारमा लोडअनलोडको समस्या पनि छ । यो समस्या हल गर्न सम्बन्धित निकाय म समन्वय गर्नेछु । अर्को कुरा सोमबारे हटियोको समस्या पनि देखिएको छ, यसलाई उचित ठाउँमा स्थानान्तरण गरेर व्यवस्थित पनि गर्न पहल गर्छुं । अर्को मुख्य कुरा, मैले अघि नै भने लेउती धरान सुरुङ मार्ग बन्यो भने पनि धरानको व्यापार, व्यवसायलाई चलायमान बनाउन ठुलो टेवा पुग्नेछ ।
प्रश्न: तपाईले विधान संशोधन किन गर्न चाहनु भएको हो ?
उत्तरः हाम्रो मुलुक संघीय संरचनामा गइसकेको छ तर हाम्रो विधान भने पुरानै छ । त्यसैले विधानलाई पुर्नलेखन गर्न आवश्यक छ भन्ने मेरो विचार हो । विधानको केही बुँदाहरु अस्पष्ट छन्, त्यसलाई प्रष्ट पार्नुपर्ने छ । हाम्रो संस्थामा महिलाहरुको प्रतिनिधित्व कम छ, त्यसैले विधान संशोधन गरेर कार्यसमितिमा महिलाहरुको संख्या बढाउने सुनिश्चितता गर्नुपर्नेछ ।
विधान संशोधन गरेर नै व्यवसायको वर्गीकरण पनि गर्नुपर्नेछ । साथै, सुनसरी उद्योग वाणिज्य संघ धरानको मात्र संघ जस्तो देखिएको गुनासो पनि छ । तर हाम्रो संस्था जिल्ला भरिकै संघ भएकोले पनि कार्यसमितिमा धरान बाहिर जिल्ला भरिकै व्यवसायीहरुको पनि प्रतिनिधित्व हुने गरि संशोधन गर्ने मेरो एजेण्डा हो ।
प्रश्न: आन्तरिक राजश्व कार्यालय भन्नुबित्तिकै व्यापारी, व्यवसायीहरु आतंकित हुने परिस्थिति रहेको छ, यसलाई कसरी समाधान गर्नुहुुन्छ ?
उत्तर: यो निक्कै महत्वपुर्ण बिषय हो । आन्तरिक राजश्व कार्यालयसँग आतंकित हुने साना व्यावसायीहरु धेरै छन् । तसर्थ व्यापारीहरु आफै पनि चनाखो हुनुपर्छ । घर वहाल तिर्दा यथार्थ जे हो त्यही अनुसार सम्झौता गर्नुपर्छ भन्ने मेरो सुझाव छ । त्यसो गर्दा जति भाडा तिरेको हो त्यो हिसाब खर्चमा देखाउन पाइन्छ । हामी व्यापारी, व्यवसायीहरुले आफ्नो करोबारको खाता हरदम अपडेट राख्नुपर्छ, त्यसको लागि लेखा प्रणालीको क्षमता अभिवृद्धि गराउने काम मेरो कार्यकालमा हुनेछ ।
साथै, राजश्व कार्यालयसँग समन्वय गरेर व्यापारी, व्यवसायी त्रसित नहुने वातावरण बनाउन पनि म लाग्नेछु । यसैबिषयमा अडिटर वा कर सहयोगीको समिति बनाएर आन्तरिक राजश्व कार्यालयमा हेल्प डेस्क पनि राख्छौं । र, संघको कार्यालयमा अडिटको काम पनि गरिदिने व्यवस्था गर्नेछौं । हामी विज्ञको सहयोग लिएर ठेकदार, व्यवसायीहरुलाई इ बिडिङको पनि तालिम दिन्छौं ।
अर्को महत्वपुर्ण कुरा, धरान उपमहानगरपालिकाकामा पुरानो व्यवसाय दर्ता भएको तर व्यवसाय अहिले बन्द रहेको धेरै छन् । व्यवसाय घाटा भएर सञ्चालन नभएको तर सम्बन्धित निकायमा व्यवसाय बन्द नगरेकाहरुलाई वडा कार्यालयबाट कुन मितिमा बन्द भएको भनि सर्जमिन गरेर सिफारिश भइआए सहुलियत सुविधामा व्यवसाय बन्द गराउन पनि पहल गर्नेछौं । यसले नगरको आम्दानी पनि बढाउछ, र व्यवसायीहरुलाई राहत पनि मिल्छ ।
प्रश्न: लगानी भित्र्याउन के गर्नुहुन्छ ?
उत्तर: पहिलो कुरा त पर्यटन क्षेत्रमा लगानी भित्र्याउन सकिन्छ । केवलकारमा लगानी गर्न व्यवासयी इच्छुक छन्, स्थानीय सरकारले वातावरण बनाउनुपर्छ, म पहल गछुै । अर्को कुरा धरानमा स्तरीय होटलमा पनि लगानी हुनछ । सथनीय सरकारले केही समयको लागि कर छुट वा घरनक्सा पासमा छुट दिने जस्तो प्याकेज सुविधा दिनुपर्छं । त्यसो भयो भने लगानी आउने निश्चित छ । म त्यसको लागि पहल गर्छुं । पर्यटनमै विष्णुपदुका, बराहक्षेत्र, रामधुनी र विण्डेश्वर, दन्तकालि, बुढसुब्बालाई जोडेर धार्मिक सर्किट बनाउनुपर्छ, त्यसमा मेरो पहलकदमी हुन्छ ।
प्रश्न: सुनचादी व्यवसायीको बन्धकी र खरिदबिक्री गर्दा, यस्तै मोवाइल व्यवसायमा पनि पुरानो मोवाइल खरिद बिक्रीको समस्या देखिएको भन्ने गुनासो छ, यसलाई कसरी समाधान गर्न सकिन्छ ?
उत्तर: सुनचादी व्यावसायमा खास गरि गरगहना धितो बन्धकी राख्दा चारीको सामान छ भने व्यवसायीहरु समस्यामा पर्छन् । यो झमेलाबाट मुक्त हुने एउटा उपाय छ । त्यसको लागि व्यवसायीहरुले भुक्तानी गर्दा अनिवार्य बैंकिङ प्रणालीबाट गर्नुपर्छ, र बिक्रेताको बिल नभएको हकमा अनिवार्य भौचर उठाएर सबै विवरण राखेर खरिद गर्नुपर्छ । त्यसो गर्दा यदि चोरीको सामान भएमा बैंक मार्फत सम्पुर्ण विवरण उपलबध हुन्छ, र प्रशासनलाई चोरीमा संलग्नलाई समाउन सहज हुन्छ ।
मोवाइलको पनि यस्तै समस्या छ । मोवाइल व्यवसायीले पनि यसरी नै बैंकिङ भुक्तानी गरेमा यो समस्या हुदैन । यसको लागि म निवार्चित भएपछि सुनचादी व्यवसायी र मोवाइल व्यवसायीहरुसँग आवश्यक परामर्श लिई नीतिगत निर्णय गराउने, र सम्बन्धित निकाय प्रहरी प्रशासनमा पनि पहल गर्नेछुँ ।
प्रश्न: तपाईले स्थानीय एवं घरेलु उत्पादनको संरक्षण, प्रर्वद्धन गर्न के गर्नुहुन्छ ?
उत्तर: सुनसरी उद्योग वाणिज्य संघको प्रमुख उद्देश्य नै स्थानीय र घरेलु उत्पादनहरुको संरक्षण, प्रर्वद्धन गर्नु भएकोले यो बिषयमा पनि म बिशेष ध्यान दिनेछु । सुनसरी र धरानमा भएका आदिबासी जनजातिहरुको मौलिक परिकार र पेय पदार्थलाई ब्राण्डिङ गर्नको लागि म सम्बन्धित संघसंस्था र सरोकारवालाहरुसँग सहकार्य गर्नेछु । जस्तो कि धरान क्षेत्रमा नै उत्पादन हुने अम्लिसो, अदुवा, बेसार, कोदोको रक्सीलगायतलाई ग्रेडिङ र ब्राण्डिङ गर्ने अनि बजारीकरण गर्न पहल गर्नेछु ।
प्रश्न: संघको चुनावमा राजनीतिक दलहरुको प्रत्यक्ष, अप्रत्यक्षरुपमा संलग्नता भएको देखिन्छ, तपाई पनि कुनै राजनीतिक दलबाट समर्थन प्राप्त उम्मेद्वार हो ?
उत्तर: लोकतन्त्र भएको हुनाले कुनै पनि संघसंस्थामा निर्वाचन हुदै गर्दा राजनीतिक दलहरुले चासो दिनुलाई अस्वभाविक मान्न हुदैन । तर, सुनसरी उद्योग वाणिज्य संघ नितान्त उद्योगी, व्यवसायीहरुको हकहितमा सक्रिय रहने संस्था हो । यहाँ राजनीतिक दलको प्रत्यक्ष हस्तक्षेप हुदैन । व्यापारीहरुको आफ्नो राजनीतिक आस्था हुनु फरक कुरा हो । म सबैको साझा उम्मेद्वारकोरुपमा उभिएको छु, मलाई सबैको साथ, सहयोग, समर्थन र सद्भाव पनि छ । मलाई बस्तुगत संघहरुको, पुर्वअध्यक्ष ज्युहरु, वर्तमान कार्यसमिति र तमाम उद्योगी, व्यवसायीहरुको चै समर्थन प्राप्त छ ।







